|  

भारतीय दुतावासद्वारा ‘नेपाल-भारत स्टार्टअप कनेक्ट’ कार्यक्रमको आयोजना

११ माघ, काठमाडौं । नेपाल  र भारतका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन ‘नेपाल-भारत स्टार्टअप कनेक्ट’ कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल र भारतका स्टार्टअपहरुबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । भारतीय राजदूतावास काठमाडौंको आयोजना र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी-२० को अध्यक्षता र जी-२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरेका छन् । उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा JAM trinity (Jan Dhan Yojana, Aadhaar and Mobile Number) जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गरे ।

त्यस्तै, कार्यक्रमका मुख्य अतिथिका रुपमा उपस्थित भएका नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा जानकारी दिए । साथै उनले नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेकोबारे पनि बताएका छन् । उनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

यसैवीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिएका थिए । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले भने “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिएका थिए ।

सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे Paynearby का प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिए । नेपाल -भारत स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने दूतावासले जनाएको छ ।