|  

विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने राप्रपा नेपालको निर्णय 

११ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ ।

माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले समाधान विचार धारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको हो । 

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति, विचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मुर्त रुप दिन यो कमिटीले काम गर्नेछ । निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ(संस्थाहरुसँग तुरुन्तै संवाद सुरु हुनेगरी तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।