|  

अर्थतन्त्र जोगाउन सार्वजनिक संस्थानहरूले खर्च कटौती गर्नुपर्नेमा विष्णु पौडेलको जोड

११ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानहरूले आर्थिक मितव्ययिता, फजुल खर्च कटौती र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेका अवसरमा मङ्गलबार राजधानीमा आयोजित समारोहमा उनले सार्वजनिक संस्थानहरूले अर्थतन्त्र जोगाउनका लागि खर्च कटौती गर्नुपर्ने बताएका हुन् । अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको बताए ।

बैङ्किङ सेवाप्रति ग्राहकको आकाङ्क्षा तीव्र रूपमा परिवर्तन भएको सन्दर्भमा रावा बैङ्कले आफ्ना सबै प्रकारका ग्राहकको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी सेवासुविधामा गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने बताए । आफ्ना सेवालाई अझ भरपर्दो विश्वसनीय, सुरक्षित तथा ग्राहकमैत्री बनाउनुपर्ने उनले आवश्यकता औँल्याए । 

राष्ट्रिय वाणिज्य बैङ्कलाई नाफामा मात्रै ध्यान नदिन आग्रह गर्दै उनले सरकारको लगानी रहेको बैङ्कले सार्वजनिक हितमा पनि ध्यान दिनुपर्ने बताए ।