|  

महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक

११ माघ, काठमाडौं ।  महोत्तरीको मनरा शिसवा नगरपालिकामा मदिरा बिक्री वितरण, ओसार–पोसार तथा सेवनमा रोक लगाइएको छ ।

पालिकाका सर्वसाधारण जनताको सदाचार, सामाजिक सदभाव, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा अपराधिक घटनाहरु नियन्त्रण गर्न मदिरा बिक्री वितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो ।

गत पुस ३० गते सम्पन्न १० औँ नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७२ को दफा ५ को ६ बमोजिम पालिकाका वडा नं.२, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रहरुमा मदिराको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रुपमा बन्देज गरिएको प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरीले जानकारी दिए ।

उनले वडा नं. १, ४, ६ र ७ मा दफा ५ बमोजिम सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठ मन्दिरको चारैतर्फ ३०० मिटर दुरी भित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वित्तरण गर्न नपाईने बताएका छन्।