|  

प्रचण्डलाई विश्वासको मत दिएको विषय अब ‘क्लोज’ भइसकेकोः शेखर 

११ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा‍ शेखर कोइरालाले पत्रकार तथा मिडियाले नभएको कुरा लेखेर बिगार्न खोजेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संस्थापन इतर पक्षको बैठकमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा छलफल भएको हो भन्ने प्रश्नसँगै उनी पत्रकारसँग रिसाएका थिए ।‘जसरी अखबारहरुमा आयो त्यसरी कुरा उठेको होइन । मैले बोलेकै थिएन त्यो दिन अर्को दिन बोल्ने भनेर बैठक स्थगित भएको । अरु साथीहरुले पनि बोल्नु भएन गगनजीले पनि बोल्नु भएको थिएन,’ कोइरालाले भने, ‘तपाईहरु मिर्च मसला बनाउन नखोज्नुहोस् ।

एउटा कुरा के बुझ्नुहोस् भने तपाईहरु मिर्च मसला बनाएर बिगार्दै हुनुहुन्छ । मैले बुझेको त्यही हो । बैठकमा साथीहरुले आफ्ना कुरा र विचार राख्नु भयो । त्यहाँ शेखरले भन्यो भनेको छ । गगनले भने भनेर मिडियामा लेखेको छ । त्यो गलत हो नि ।’उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय अब ‘क्लोज’ भइसकेको बताए । ‘विश्वासको मत दिने कुरा च्याप्टर इज क्लोज । तपाईंको लागि क्लोज भएको छैन होला हाम्रो लागि क्लोज भयो । गरिसक्यौं, सकियो अब,’ कोइरालाले भने ।

कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए । ‘राष्ट्रपतिको चुनाव हामीहरु सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु । नेपाली काँग्रेसले उम्मेद्वार ठ्याक्कै यहि त भनेको छैन । तर, बाहिर चर्चामा दुई जना साथीहरुको आएको छ । अब हेरौं । तर, अब यसमा अरु दलहरुसँग पनि हामी छलफल गर्दैछौं,’ कोइरालाले भने ।