|  

नेपालमा ‘पठान’ ले गर्यो ६ करोडको व्यापार

१९ माघ, काठमाडौं । शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’ ले नेपालमा आक्रामक व्यापार गरिरहेको छ ।

शाहरुखका साथै  दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्मले नेपालमा ६ करोडको व्यापार गरिसकेको छ । ‘पठान’ ले नेपाली बक्सअफिसमा सात दिनमा ६ करोड कलेक्सन गरेको वितरक मनोज राठीले बताए । ‘यस फिल्मले नेपालमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले एकसातामा ६ करोड कमाई गरिसकेको छ। हिजोको भने कलेक्सन निकाल्न बाँकी नै छ,’ उनले भने ।

यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो । यस फिल्मले नेपालमा मात्रै नभई विश्वभर नै व्यापारमा कीर्तिमान कायम गरिरहेको छ । सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ । सन २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो ।