|  

कपिलवस्तुबाट २१ लाख बढी भारतीय रुपैयाँसहित ३ जना पक्राउ

२० माघ, काठमाडौं । कपिलवस्तु प्रहरीले २१ लाख बढी अवैध भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका–६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही ठाउँका २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार बिहीवार राति ९ बजे कपिलवस्तु नगरपालिका-२ जमुवारपुल स्थित भैरहवा-तौलिहवा हुलाकी सडकखण्डमा भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ५५ एएम ०४५९ नम्बरको भारतीय कारलाई चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ फेला परेको हो।

प्रहरीले उनीहरुको साथबाट ५ सय दरको नोट ४ हजार २०७ थान र एक सय दरको नोट ३६ थान गरी जम्मा २१ लाख ७ हजार एकसय भारतीय रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।