|  

चितवनका किसानको माग तत्काल सम्बोधन गर्न कृषिमन्त्रीलाई प्रचण्डको निर्देशन

२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् ।

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले आज किसानका माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई निर्देशन दिएका हुन् । शुक्रबार चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेका थिए । यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिएका छन्।

चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताए ।