|  

राष्ट्रपतिमा सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छः माओवादी केन्द्र

२१ माघ, काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए ।उनले भने, ‘आजको बैठकमा पार्टी संगठनबारे छलफल भयो, २ महिना सबै फिल्डमा जाने, पार्टी पंक्ति बाहेक जनता पनि भेटेर २ महिना पछि त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्छौँ ।

किनभने २ महिना भित्रमा राष्ट्रपतिको चुनाव, उपराष्ट्रपतिको चुनाव जे हुने भइसक्छ । त्यसपछि हामी केन्द्रीय समितिको बैठक बसेर अघि बढ्छौँ । त्यसको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने, त्यसपछि बाँकी रहेका काम अगाडि बढाउँछौँ । सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ ।