|  

रास्वपाका मागबारे सबै पक्षसँग कुरा हुन्छःप्रधानमन्त्री दाहाल

२१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने बताएका छन् ।

रास्वपाले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।’गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आएका छन् । यी विषयमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।