|  

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल स् विर्तामोड युनाइटेड सेमीफाइनलमा प्रवेश

३० फागुन, काठमाडौं । विर्तामोड युनाइटेड झापाको मेचीनगरमा जारी तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड झापा अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै रोमान्चक भएको खेलमा निर्धारित समयमा विर्तामोड युनाइटेड र विराट भेट्रान क्लबका खेलाडीले कुनैपनि गोल गर्न सकेनन् । दुवै टिमले पाएका थुप्रै अवसरहरु गुमाउँदै निर्धारित समय बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा विर्तामोड युनाइटेड विजयी भयो ।

विर्तामोडको तर्फबाट सन्तोष बस्नेत, मित्र बस्नेत, रमेश गुरुङ्ग र प्रेम लिम्बुले गोल गरे । विराटको तर्फबाट सुनिलकुमार सुवेदी, डेनिम राई र विनोद धिमालले गोल गरे भने, सञ्जीव बुढाथोकी र योगेन्द्र राईको प्रहार विर्तामोडका गोल किप्पर किरण बडुवाले बिफल बनाईदिए ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर किरण बडुवा घोषित भए । उनले नगदसहित ट्रफी प्राप्त गरे । काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह-आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेल धरान भेट्रान फुटबल क्लब सुनसरी र मिलन मोर सिलगुढी, भारत बिच दिनको ३ बजेदेखि हुने क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।