०१ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएकाले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरूको सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औँ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले राज्यको मात्र हैन, प्रविधिमा काम गर्ने संघसंस्था, विश्वविद्यालय तथा विज्ञहरूले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउने बताइन । अनुसन्धान र आविष्कार विकासको मेरुदण्ड रहेको उनको भनाइ छ ।
नेपालमा पहिलो पटक आयोजना भएको सम्मेलनमा विभिन्न १७ देशका ३०० जना बढीको उपस्थिति रहेको थियो । सम्मेलन फागुन २९ गतेदेखि संचालन भैरहेको छ । पाँच दिनसम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटाभन्दा बढी सेसनहरू सञ्चालन हुनुका साथै १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरूमा केन्द्रित रही प्रस्तुति दिनेछन ।