|  

बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा !

०४ चैत, काठमाडौं। बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा लामो समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय निकायले एक विज्ञप्ति निकालेर मध्य अफ्रिकी देशमा नमुना-२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ।

बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना-२ पोलियोको भाइरस फोहर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ।

पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्छ र पक्षघात निम्त्याउन सक्छ । यसको रोकथाम खोपको प्रयोगबाट गर्न सकिन्छ । डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीले पोलियो खोपलाई बढाउन सक्दो सहयोग गरिरहेको बताए।