|  

नेपाल-भारत विद्युत् आदान-प्रदान औसत दर ५.५ प्रतिशतले बढ्‌यो

०४ चैत, काठमाडौं ‌। नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको बैठकले विद्युत् आदान प्रदान दरमा ५.५ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ ।

भारतको नयाँ दिल्लीमा हिजो शुक्रबार सम्पन्न आदान प्रदान समितिको १४ औँ बैठकले यस्तो निर्णय गरेको हो । यसअनुसार औसत विद्युत् मूल्य प्रतियुनिट ७.२१ भारु (११ रुपैयाँ ५३ पैसा) हुनेछ । यो दर १३२ केभीको हो । सन् २०१९/२० देखि हालसम्म ‘टेक एण्ड पे’ (बिजुली खरिद गरे मात्र भुक्तानी हुने) आधारमा बिजुली औसत भाउ वृद्धि गरिएको प्राधिकरणले जनाएको छ ।

भारतसँग १३२ केभी, ३३ केभी र ११ केभीमा विद्युत् आदान प्रदान हुँदै आएको छ । हाल ११ केभीको प्रसारण लाइन उपयोगमा छैन । ३३ केभीको औसत दर प्रतियुनिट ७.५ भारु (१२ रुपैयाँ) छ । १३२ केभीको भन्दा ३३ केभी महँगो हो ।

बैठकमा नेपाली पक्षको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको थिए भने उनको समकक्षी केन्द्रीय विद्युत् प्राधिकरणका सदस्य (पावर सिष्टम) अशोककुमार राजपुतले गरेका थिए ।