|  

ट्वीटरका ब्लु सब्सक्राइबरले मात्र मेसेजमार्फत ‘टु फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्न पाउने

०४ चैत, काठमाडौं । ट्वीटरले मेसेजमार्फत हुने ‘टुु फ्याक्टर अथेन्टिकेसन’ फिचर अब शुल्क तिर्ने अर्थात ब्लु टिक खरिद गरेका प्रयोगकर्तालाई मात्र उपलब्ध गराउने भएको छ ।

कम्पनीले आगामी मार्च २० देखि यो नियम लागू गर्ने तयारी गरेको हो । योसँगै ट्वीटरका ब्लु टिक नलिएका प्रयोगकर्ताले मेसेजमार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न पाउने छैनन । कुनै पनि अनलाइन अकाउन्टलाई सुरक्षित राख्न टु फ्याक्टर अथेन्टिकेसन उपयुक्त मानिन्छ ।​ ट्वीटरमा मेसेज, अथेन्टिकेसन एप र सेक्युरिटी की मार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सकिन्छ ।

खराब नियत भएका व्यक्तिले फोन नम्बर प्रयोग गरेर मेसेजमार्फत हुने टु फ्याक्टर अथेन्टिकेसनको दुरुपयोग गरिरहेका कारण कम्पनीले यसलाई सशुल्क फिचर बनाउन लागेको हो । यसअघि एलन मस्कले ट्वीटर किनेसँगै भेरिफाइड ट्वीटर ह्यान्डलका लागि प्रति महिना ८ डलर तिर्नुपर्ने व्यवस्था ल्याइएको थियो ।