|  

चरिकोटमा युवाहरूलाई निःशुल्क रोजगारमूलक तालिम

४ चैत, काठमाडौं । जिल्ला युवा समिति दोलखाको आयोजना तथा युवा परिषद् बागमती प्रदेशको सहयोगमा दोलखाको सदरमुकाम चरिकोटमा युवाहरूलाई निःशुल्क रोजगारमूलक तालिम दिइएको सुरु भएको छ ।

सिपको नभएर बेरोजगार बस्न वाध्य युवाहरुलाई सिप सिकाइ रोजगारतर्फ अग्रसर गराउन निःशुल्क वारिष्टा (कफी मेकर) र होमस्टे तालिम दिन सुरु गरिएको आयोजकले जनाएको छ ।तालिमको उद्घाटन गर्दै पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले हातमा सिप हुनेले बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै तालिमका सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्दै रोजगारतर्फ उन्मुख हुन सहभागीहरुलाई आग्रह गरे ।

उनले राज्यले युवाहरुलाई स्वरोजगार बनाउन लगानी गरिरहेको बताउँदै लगानीको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै युवाहरुलाई सिप सिकेर स्वरोजगार बन्न प्रेरित गरे ।३ महिनासम्म ३ सय ९० घण्टा संचालन गरिने सो तालिममा होमस्टे तर्फ २५ जना र वारिष्टा तर्फ २५ जना गरी ५० जना युवाहरू सहभागिता रहेको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।

तालिममा सहभागीहरुलाई शक्ति थापाले होमस्टे र निशा तामाङले वारिष्टा सम्बन्धी प्रशिक्षण दिने र तालिममा सहभागी मध्येबाट उत्कृष्ट हुनेलाई प्रदेश युवा समितिले अनुदान स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिने श्रेष्ठले बताए ।