|  

कालिकोटमा गठबन्धनका विद्यार्थीको ढुंगामुढाबाट अनेरास्ववियुका दुईजना घाइते

५ चैत, काठमाडौं ।  कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा रहेको जनचेतना बहुमुखी क्याम्पसमा स्ववियु चुनावको क्रममा विवाद भएको छ ।

मतदान भइरहेको बेला फर्जी भोट हालेपछि अनेरास्ववियुले विरोध गरेको हो ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार क्याम्पस प्रमुखले ५० जना फर्जी विद्यार्थी भर्ना गराएर फर्जी मत हालेको भनेर विरोध जनाइएको हो । अनेरास्ववियुले मतदान प्रक्रिया बहिष्कार गर्दै ती विद्यार्थी भर्ना खारेजीको माग गरेको छ ।

यस क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच गठबन्धन छ । गठबन्धनका विद्यार्थीको ढुंगामुढाबाट आफ्ना विद्यार्थी घाइते भएको अनेरास्ववियुले जनाएको छ । लक्ष्मणबहादुर बम र अर्का एकजना घाइते भएका छन् ।केही विद्यार्थीले मतपेटिकालगायत मतदान सामग्री तोडफोड गर्न खोजेपछि अश्रुग्याँस प्रहार गरिएको कालिकोट प्रहरीले जनाएको छ ।