५ चैत, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भिरबाट लडेर बाग्लुङकी एक किशोरीको ज्यान गएको छ ।
बाग्लुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलको छेउबाट भिरमा खसेकी बाग्लुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको ज्यान गएको हो ।
लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवाबारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भिरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भिरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूदन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्याउँदै गर्दा उनको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।