|  

ओखलढुंगामा सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा ३ जना पक्राउ

९ चैत, काठमाडौं ।  ओखलढुंगामा सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका ११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठेगाना भएका ४३ वर्षीय पारसकुमार दास रहेका छन् ।उनीहरुलाई मोलुङ गाउँपालिका २ बाट प्रहरीले पक्राउ गरेको हो ।

सुनका गरगहना सस्तो मूल्यमा सफा गरिदिने प्रलोभनमा पारेर विभिन्न किसिमका रसायनिक पदार्थहरु प्रयोग गरी गरगहनाको परिमाणमा कम गरी ठगी गरिरहेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।