|  

भारतले दियो नेपालका २ हजारभन्दा बढी अधिकारीलाई आइटेक तालिम

११ चैत, काठमाडौं । भारतीय राजदूतावासले ५८ औं भारतीय प्राविधिक एवम आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । 

भारतीय राजदूतावास काठमाडौंले एक प्रेस विज्ञप्ति जारी गर्दै ५८ औं आइटेक दिवस मनाएको जानकारी दिएको हो । समारोहमा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाइ (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथिको उक्त कार्यक्रममा उपस्थिति थियो । 

यसैवीच, नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि खेल्दै आएको भूमिकाको चर्चा गरेका छन् । साथै राजदूत श्रीवास्तवले भारतले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने बारे विचार भइरहेको बताए ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव श्री रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाइहरुले भारतमा रहँदाका दिनहरुको सम्झना गरेका छन् । सो अवसरमा भारतीय राजदूतावास,स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्याउन यस आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको छ । सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएको छ । 

चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा र अनुसन्धान संस्थानमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य व्यवस्थापन विकास कार्यक्रम कोर्षका लागि नेपाल मेडिकल एसोसिएसनबाट ४५ जना चिकित्सक, जोधपुरस्थित राष्ट्रिय कानून विश्वविद्यालयमा विशेष कोर्षका लागि महान्यायाधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी र इन्डिया इन्टरनेशनल इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड इलेक्शन म्यानेजमेन्टमा निवार्चन आयोगबाट २९ जना अधिकारीसहित करिब २०० जना नेपाली सरकारी कर्मचारी, स्वास्थ्य तथा  कानून व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२-२०२३ मा आइटेक कोर्षको तालिम लिएका छन्।

यो वर्ष नेपाली सहभागीहरुले सेन्ट स्टीफन्स युवा नेताहरू, छिमेकी-पहिलो फेलोशिप कार्यक्रम, जलविज्ञान तथा जल व्यवस्थापन, खरिद र ठेक्का ठगी लगायत भ्रष्टाचार विरोधी मुद्दाहरूको अनुसन्धान, डार्क वेब र  क्रिप्टो मुद्रा लगायतका कोर्ष सम्बन्धी तालिम लिएका छन् । विगत केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ । गत पन्ध्र वर्षमा मात्रै नेपालका २००० भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।