|  

किर्तिपुर पुगेर नेपाल र खनाल लगायतका नेताहरुले हेरे फिल्म ‘छक्कापञ्जा ४’ 

१२ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् ।

दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए । उनीहरुले त्यहाँ मध्यान्ह् साढे १२ बजेको शोमा फिल्म हेरेका थिए ।

नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए । फिल्म हेरिसकेपछि नेता नेपाल र खनालले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता शर्माले जानकारी दिए । दर्शकसँगै हलको अघिल्लो लहरमा बसेर उनीहरुले फिल्म हेरेका थिए ।

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने यो फिल्म आक्रामक कमाइको साथ अहिले हलमा चलिरहेको छ । शनिबार मात्रै यो फिल्मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् । एमाले नेता योगेश भट्टराईले पनि फिल्म आफूलाई मन परेको बताएका छन् । भरतपुरकी मेयर रेनु दाहाल र प्रदेशका केही मन्त्रीले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।

हेमराज बीसी निर्देशित फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।