|  

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

१४ चैत, काठमाडौं । पछिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या बृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला ५ दिनमा १०५ संक्रमित थपिएका छन् । २०७९ मंसिरमा शून्यमा झरेको संक्रमितको संख्या पछिल्ला ४ महिनायता न्यून थियो । चैत १३ गते एकैदिन ६९ संक्रमित भेटिएका थिए । योसँगै संक्रमण फेरि फैलने हो कि भन्ने त्रास बढेको छ ।

आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घन्टामा देशभरबाट १४२९ नमूना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३२० र एन्टीजेनबाट ११०९ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट ९ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।