शनिवार १२ जेष्ठ, २०८२  | Saturday 24 May, 2025 

यसवर्ष तीन कम्पनीबाट २ सय २८ मेगावाट बिजुली उत्पादन हुने

१५ चैत, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन तीन कम्पनीबाट २२८ मेगावाट बिजुली उत्पादन गरिने भएको छ ।

रसुवागढी, मध्यभोटेकोशी र माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट २२७।८ मेगावाट बिजुली असारमा उत्पादन थाल्ने गरी तयारी भइरहेको हो । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी, रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट असारमा उत्पादन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । 

चिलिमेले तीन आयोजनाका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरी आयोजना निर्माण गरिरहेको छ, जसमा रसुवागढी ९० प्रतिशतभन्दा बढी र मध्य भोटेकोशीको तथा माथिल्लो साञ्जेनको काम ९५ प्रतिशत सकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवासकुमार मिश्रले जानकारी दिए । भूकम्प तथा कोभिडको समस्याले निर्माणमा केही ढिलाइ भए पनि हाल तीन ओटै आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । 

मध्य भोटेकोशी जलविद्युत्लाई २०७१ साउनमा आएको जुरे पहिरोले निकै असर गरेका कारण पनि निर्माणमा ढिलाइ भएको उनले बताए । ०७२ वैशाखको विनाशकारी भूकम्प, ०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमामा भएको अवरोध, ०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड महामारीका कारण आयोजना निर्माणमा असर परेको कम्पनीले जनाएको छ । तीन आयोजनाको कुल लागत करिब ३८ अर्ब १० करोड रहेको कम्पनीले बताएको छ ।

मध्य भोटेकोशी आयोजनाको अनुमानित लागत १५ अर्ब ५ करोड, रसुवागढी जलविद्युत् २१ अर्ब र माथिल्लो साञ्जेनको दुई साढे २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । रसुवागढीको अन्तिम चरणको काम सकिएको रसुवागढी जलविद्युत् कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेको भनाइ छ । मध्य भोटेकोशीको पनि अन्तिम चरणको काम भइरहेको आयोजना प्रमुख रामगोपाल शिवाकोटीले बताए । कम्पनीले मध्य भोटेकोशी जलविद्युत् आयोजनालाई तीन चरणमा विभाजन गरी काम गरिरहेको छ, जसमा सुरुङको काम भइरहेको शिवाकोटीले जनाए ।