|  

ललितपुर मेयर कपमा एपिएफको ह्याट्रिक

१७ चैत, काठमाडों । कप्तान सीता रानामगरको लगातार उत्कृष्ट प्रदर्शनसँगै एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको फाइनलमा एपिएफले कोसी प्रदेशलाई ५४ रनले पराजित गर्‍यो । एपिएफ अपराजित रहँदै च्याम्पियन भएको हो । एपिएफलाई उपाधि दिलाउने क्रममा कप्तान सीताले लगातार चौथो खेलमा प्लेयर अफ दी म्याच जितिन् । उनी नै प्रतियोगिताको प्लेयर अफ दी सिरिज घोषित भइन् । एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले हराएको थियो । जितसँगै एपिएफले दुई लाख र उपविजेता कोसीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । 

पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा एक विकेट गुमाएर एक सय ५४ रनको विशाल योगफल बनायो । प्रत्युत्तरमा कोसीले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय रन जोडेको थियो । एपिएफको उत्कृष्ट जितमा कप्तान सीता र इन्दु बर्माले दोस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । दुवै खेलाडीबीचको शतकीय साझेदारीका कारण एपिएफले ललितपुर मेयर कपमा सर्वाधिक योगफल बनायो । सन् २०२१ को पहिलो संस्करणमा ललितपुर–११ ले लुम्बिनी प्रदेशविरुद्ध एक सय ४४ रन बनाएको थियो ।

सीता र इन्दुले दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्न सफल भए । एपिएफको पहिलो विकेट १८ रनमा झरेको थियो । सीता र इन्दुले एपिएफका लागि अन्तिमसम्म नटआउट योगदान दिए । सीताले ६८ बलमा नौ चौका र दुई छक्का प्रहार गरी ७९ रन बनाइन् । इन्दुले ४१ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५१ रन जोडिन् । प्रतियोगिताको एकै इनिङ्समा व्यक्तिगत उच्च रन सीताको नाममा रह्यो । 

पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् । घरेलु महिला टी–२० खेलमा सीता र इन्दुले कुनै पनि विकेटका लागि पहिलोपटक उच्च साझेदारी गर्न सफल भए । पहिलो संस्करणमै ललितपुरकी सुमन र अस्मिना कर्माचार्यले लुम्बिनीविरुद्ध छैटौँ विकेटका लागि एक सय आठ रनको साझेदारी गरेका थिए ।

एपिएफकी कप्तान सीता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । सीताले पाँच खेलमा दुई अर्धशतकसहित दुई सय १४ रन बनाउनुका साथै आठ विकेट लिएकी थिइन् । सीताले ३० हजार नगद पुरस्कार पाइन् । कोसीकी कप्तान रुबिना उत्कृष्ट ब्याट्सम्यान र कोसीकै निशा शाह उत्कृष्ट बलर घोषित भएका छन् ।