१७ चैत, काठमाडाैं । आजदेखि शुरु भएको माध्यमिक तह परीक्षा (एसईई)मा बारा जिल्लाबाट ९ हजार १६९ विद्यार्थी सहभागी भएका छन ।
जिल्लाभरमा ३२ वटा परीक्षा केन्द्रबाट २ जना दृष्टिविहीन सहित ३७८ जना प्राविधिक तर्फका विद्यार्थी परीक्षामा सहभागी छन् । जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख श्यामकिशोर यादवले परीक्षा प्रणालीमा विगतको तुलनामा धेरै सुधार गरिएको बताएका छन् । परीक्षालाई शान्तिपूर्ण र पारदर्शी ढङ्गले सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक, जिल्ला निर्वाचन अधिकृत, लगायतको छुट्टाछुट्टै मोबाइल टोली समेत परीक्षा केन्द्रमा खटिएको छ ।
परीक्षामा पहिलो दिनदेखि अन्तिम दिनसम्म सम्बन्धित विद्यालयको प्राथमिक तहमा अध्यापन गराउने एउटै शिक्षक खटाउने र विगतको वर्षहरूमा प्रत्येक दिन विषय शिक्षकलाई परीक्षा गार्डको रूपमा खटाउने व्यवस्थालाई यस पटक हटाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् ।
बारा प्रजिअ सापकोटाले विगतका वर्षहरूमा प्रति विद्यार्थी ४ हजार रुपियाँको दरले रकम उठाएर विद्यार्थी पास गराउने ठेक्का लिएको विषयमा आफूलाई सूचना आएको बताएका छन् ।