|  

कालिका कप खुला पुलिस भलिबलकाे उपाधि पुलिस क्लवलाई

१७ चैत, काठमाडौं । चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । घुम्टेले पहिलो र तेस्रो सेट आफ्नो जितेको थियोभने पुलिसले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो । उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको घुम्टेले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन्। दुवै टिम एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको हो । तेस्रो भएको हिल साइड निर्माण सेवा निलोले ७० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरेको छ ।

यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।