|  

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

१७ चैत, काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

आज काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । आज सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मिकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडोभन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । उनले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताए । उनले राज्यपक्ष सुरुवाती चरणमा गम्भीर नबने पनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने बताए । 

प्रदर्शनकारीले ‘पहिचान विरोधी होशियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गर, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर’ लगायतका नारा लगाएका लिए ।