|  

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिमा मनाङ र थ्री स्टार भिड्दै 

१८ चैत, काठमाडौं । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज थ्री स्टार र मनाङ-मस्र्याङ्दी क्लब भिड्दै छन ।

धनगढी रंगशालामा आज दिउँसो हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन । मनाङ उपाधि रक्षा गर्ने होडमा र थ्री स्टार इतिहास बनाउन चाहन्छन् । साबिक विजेता मनाङ खप्तड गोल्डकपमा तेस्रो उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ । तेस्रोपटक फाइनलमा प्रवेश गरेको थ्री स्टार पनि उपाधिको स्वाभाविक दाबेदार हो ।

यसैगरी, थ्री स्टार सुदूरपश्चिममा पहिलोपटक उपाधि जित्न चाहन्छ । दुवै टोलीका कप्तानहरूले उपाधि आफूले जित्ने दाबी गरेका छन । 

प्रतियोगिताको उपाधि विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार तथा म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा ९ चैतदेखि सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी, मोफसलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।