|  

आगामी वर्ष २०८० सालका लागि सार्वजनिक बिदा कटौती

१८ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०८० सालका लागि सार्वजनिक बिदा कटौती गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी प्रदेश राजपत्रमा २०७९ सालमा दिइएका बिदामा कटौती गर्दै अतिरिक्त बिदा तीन दिनमा झारिएको छ । २०८० सालको असार २९ गते शुक्रवारका दिन भानु जयन्तीका दिन, कात्तिक ११ गते शनिवार कोजाग्रत पूर्णिमाका दिन र फागुन ४ गते गण्डकी प्रदेश स्थापना दिवसका दिन गरी तीन दिनका लागि बिदा दिइएको छ ।

२०७९ सालमा प्रदेश सरकारले संघीय सरकारले दिएबाहेकका चार दिन अतिरिक्त सार्वजनिक बिदा राखेको थियो । भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश स्थापना दिवस र चैते दशैँमा बिदा दिइएको थियो । चैते दशैँमा दिइएको बिदा २०८० सालमा कटौती गरिएको छ । 

२०७८ सालमा भने भने सार्वजनिक बिदाको सङ्ख्या पाँच थियो, जसमा चैते दशैँ, इद, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार रहेका थिए ।