१८ चैत, काठमाडौं । इन्टरनेटमा अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा छ ।
हरेक वेबसाइटमा एआई एकीकृत भइरहेका छन । प्रविधिका ठूला कम्पनीहरू एआईको दौडमा आफू कसरी अगाडि हुने भनेर लागिपरेका छन । यसैबीच मिटिङ इन्टेलिजेन्स टुल ‘रिड’ ले घण्टौं लामो मिटिङलाई दुई मिनेटको संक्षिप्त भिडिओ बनाउन एआई प्रयोग गरेको छ । यसका लागि कम्पनीले लार्ज ल्याङ्वेज मोडेलहरू प्रयोग गरेको छ ।
यस मोडेलले मिटिङलाई विश्लेषण गरेर सबैभन्दा महत्त्वपूर्ण भागहरूको छोटो भिडिओ तयार पार्ने कम्पनीले उल्लेख गरेको छ । प्रयोगकर्ताहरूले उक्त संक्षिप्त भिडिओ हेर्नका लागि ‘प्ले हाइलाइट्स वन्ली’ अप्सनमा क्लिक गर्नुपर्ने छ ।
यस टुलले मिटिङको प्रभावकारिताबारे पनि रिपोर्टहरू तयार पार्छ । सन २०२१ स्थापना भएको यस कम्पनीले अनलाइन मिटिङ गर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स र वेबएक्ससँग पनि सहकार्य गरिसकेको छ । कम्पनीले यो एआई मोडेल तयार पार्न लगानीकर्ताबाट १० मिलियन डलर (करिब १ अर्ब ३१ करोड रूपैयाँ) पाएको थियो ।