|  

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

एजेन्सी - कोरोना भाईरस अर्थात् कोभिड - १९ संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २० लाख नाघेको छ ।

कोभिड - १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ९ करोड ४३ लाख १२ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर कोभिड - १९ को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म २० लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर २० लाख १७ हजार ८४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ६ करोड ७३ लाख ४५ हजार ३२९ जना कोरोना मुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ४ लाख १ हजार ८५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४१ लाख २ हजार ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४८ हजार ८० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८०५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार १३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १७६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार १५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ५ लाख ४३ हजार ६५९ पुगेको हो । प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ८३ लाख ९४ हजार २५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ लाख ८ हजार २९१ पुगेको छ ।