|  

भारतमा सर्वसाधारणबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु : नेपाललाई पनि उपलब्ध गराउने सुनिश्चितता

३ माघ,काठमाडौं - भारतमा सर्वसाधारणहरुबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ ।

शनिवार बिहानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको सुरुवात गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित् छ । खोप अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाईएको छ ।  त्यस्तै पहिलो प्राथमिकतामा रहेका ३० करोड मानिसलाई भारतले आगामी जुलाईसम्ममा खोप दिने बताएको छ ।

खोपका लागि सात सय जिल्लामा भारत सरकारले झण्डै एक लाख ५० हजार कर्मचारी समेत परिचालन गरेको छ । बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बताएका छन् ।  त्यस्तै भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेको बीबीसीमा उल्लेख गरिएको छ ।

उक्त खोप अभियानका लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको जनाएको छ । भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ । 
भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ ।  अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिन भित्र दुई डोज खोप लिनुपर्ने जनाएको छ । खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ ।

कोरोनाविरुद्वको खोप अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्दै मोदीले भारतमा सुरु भएको कोरोनाविरुद्वको खोप अभियान विश्वकै सबैभन्दा ठूलो अभियान भएको बताएका छन् । त्यस्तै भारतमा कोभिड खोप प्रयोगमा आएपछि नेपालको आवश्यकतानुसार प्राथमिकताका साथ नेपाललाई पनि खोप उपलब्ध गराउने सुनिश्चितता व्यक्त गरेको छ।