|  

सुनिल शर्माको सचिवालयले किन दाबी गर्न सकेन सक्कली प्रमाणपत्र ?

२६ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात वर्षअघि अर्थात २०७३ सालमा एकैसाथ १० जिल्लामा ‘अपरेशन क्वाक’ चलायो । 

त्यस अनुसन्धानका क्रममा सीआईबीले ५६ जना नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गर्यो । त्यसबेला सीआईबीले भारतको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट जारी आइएस्सीको शैक्षिक प्रमाण–पत्र बोक्ने ९ सय २५ जना चिकित्सकको प्रमाण–पत्र जाँच गरेको थियो । नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को टोलीलाई समेत लिएर सीआईबीका अनुसन्धान अधिकृतहरु बिहारस्थित कलेजमै पुगेका थिए । मेडिकल काउन्सिलको परीक्षामा पटकपटक अनुत्तीर्णसहितका चिकित्सकहरुको प्रमाण–पत्र छानबिन हुँदा १ सय ४१ जना चिकित्सकको प्रमाण–पत्र ‘भेरिफाइ’ भएन ।

तीमध्ये ५६ जना पक्राउ परे पनि बाँकी ८५ जनाविरुद्ध भने कारबाही भएको थिएन । प्रहरी कारबाहीबाट बच्नेमध्ये एक थिए नोबेल मेडिकल कलेजका सञ्चालक अर्थात वर्तमान कांग्रेसका सांसद डा.सुनिल शर्मा । नवराज सिलवाल ब्यूरो प्रमुख भएका बेला उनी पक्राउ परिने डरले भागेर जापान पुगेका थिए । पछि महानिरीक्षक नियुक्तिको रस्साकस्सीबीच अपरेशन क्वाक त्यहि रोकिएको थियो । तर, सात वर्षपछि सीआईबीले पुनः नक्कली शैक्षिक प्रमाण पत्रबाहक चिकित्सकको पुरानो फाइल खोल्यो । 

यहि साउन १० गतेको प्रतिनिधिसभा बैठकमा सांसद् सुनिल शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा भरिया मात्र पक्राउ गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संसदमै राजीनामा माग गरेका थिए । राजिनामा माग गरेको दुई सातापछि शर्मा पक्राउ परे । 

उक्त पक्राउप्रति शर्माको सचिवालयले विज्ञप्ति जारी गर्दै संसद्मा दिएको अभिव्यक्तिको प्रतिसोध साँध्न पक्राउ गरिएको दाबी ग¥यो । यता सीआईबी निर्देशक एआईजी किरण बज्राचार्यले भने उनको अभिव्यक्ति र गिरफ्तारी संयोग मात्र भएको बताएका छन् । उनले पुराना घटनाहरुमाथि सीआईबीले निरन्तर अनुसन्धान गरिरहेको स्पष्टिकरण दिए । त्यतिमात्र हैन, उनले सुनिल शर्माको हकमा पछिल्लो समय नक्कली शैक्षिक प्रमाण पत्र लिएको पुष्टि भएपछि पक्राउ गरेको बताउँदै अरु विषयसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारे । 
ब्यूरोका एक अधिकृतका अनुसार, बेलबारी–९, मोरङका शर्मा लेटाङ माध्यमिक विद्यालयबाट ‘तेस्रो श्रेणी’मा एसएलसी उत्तीर्ण भएपछि अर्को वर्ष पुनः एसएलसी दिन कालिकोट गएका थिए । त्यसबेला कम अंक आएकाले उनी एक जना आफन्तको घरमा कालीकोटतिर गए । र त्यहाँबाट एसएलसी दिँदा प्रथम श्रेणीमा पास भएका थिए । त्यसपछि उनले भारतमा गएर आइएस्सीको प्रमाण–पत्र ल्याएको देखिन्छ । ।’
सीआईबीका अधिकृतहरुले पनि भारतको बीडीबीकेएस कलेज, फारविजगञ्जबाट उनले १९९६ मा आईएस्सी उत्तीर्ण गरेको नक्कली प्रमाण–पत्र ल्याएको बताएका छन् । शर्माको शैक्षिक प्रमाण–पत्र आफ्नो रेकर्डमा उल्लेख नभएको व्यहोराको पत्र बिहार विद्यालय परीक्षा समिति (उच्च माध्यमिक) ले पनि केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको छ । त्यो पत्र नवराज सिलवालकै पालामा आएको उनीहरुको दाबी छ ।

भारतबाट ल्याएको त्यही शैक्षिक प्रमाण पत्रको आधारमा उनी २०५६ सालतिर चीनको सिन्स्याङ मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न गएका थिए । एमबीबीएस पनि उनले पूरा गरे नगरेको स्पष्ट नदेखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तर चीन गएको सात वर्षपछि उनी एमबीबीएस उत्तीर्ण गरेको प्रमाण–पत्र लिएर फर्किएका थिए । त्यो प्रमाण पत्रमाथि पनि छानबिन गर्नुपर्ने अनुसन्धानमा संलग्न अधिकृतले भनेका छन् । 

हाल सीआईबीले शर्मासहितका चिकित्सकलाई पक्राउ गर्न चलाएको अपरेशनलाई ‘फक्सट्रट चार्ली’ नाम दिएको छ । यस अपरेशमा शर्मासहित हालसम्म ८ जना पक्राउ परेका छन्  । उनीहरुलाइ म्याद थपका लागि सरकारी वकिलकहाँ पेस गरिएको छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएको स्वीकार गरेका सांसद शर्माले डा. ज्ञानेन्द्र गिरीको समुहसँग गैरकानुनी बाटोबाट नोबेलको स्वामित्व लिएपछि भने अकुत सम्पत्ति आर्जन गरेको देखिन्छ । तर हाल काँग्रेसले सरकारको चर्को आलोचना गर्दै पूर्वाग्रही भएर आफ्ना नेताहरूलाई टार्गेट गरेको भन्दै शर्माको बचाउ गरिरहेको छ । सुनिल शर्माको सचिवालयले विज्ञप्ति जारी गर्दा शर्माको पक्राउलाई राजनितिक प्रतिसोध साधेको उल्लेख गरेपनि शर्माको शैक्षिक प्रमाणपत्र सक्कली हो भनेर दाबी भने किन गर्न सकेन ।