|  

जी-२० का अन्य सत्रमध्ये बिजनेश ट्वेन्टी महत्त्वपूर्ण 

विपिन देव
१९ भदौ, काठमाडौं । जी-ट्वेन्टीका विभिन्न सत्रमध्ये बिजनेश ट्वेन्टीलाई महत्त्वपूर्ण सत्रको रूपमा लिइएको छ ।

यूरोपेली संघलगायत १९ ओटा राष्ट्रहरूका साझा मञ्चका रूपमा रहेको जी ट्वेन्टीलाई संसारको सबभन्दा अब्बल र प्रभावकारी संगठनका रूपमा लिइन्छ । गत डिसेम्बरदेखि जी-ट्वेन्टीको अध्यक्षता भारतले ग्रहण गरेको छ । जी-ट्वेन्टीलाई जनजनसम्म पुर्‍याउन भारतका ६० ओटा शहरमा २ सय शीर्षकमा विश्वका विभिन्न मौलिक मुद्दामा बहस भएको पाइन्छ । भारतको नीतिलाई पृथक ढङ्गले व्याख्या गरेको देखिन्छ । यस्तो कार्यक्रमको उद्देश्य ती शहरलाई विश्व समुदायसँग परिचित गराउनु हो जसले गर्दा भारत व्यापार र पर्यटन क्षेत्रमा आफ्नो महत्त्वाकांक्षालाई प्रत्याभूत गर्न सकोस । 

जी–ट्वेन्टीको कार्यक्रमको प्रारूपलाई भारतका परराष्ट्रमन्त्री जयशंकरले जनजनको कूटनीतिका रूपमा व्याख्या गरेका छन । अर्थात वर्तमान कूटनीति बौद्धिक विलास मात्र नभई जनजिब्रोमा हुनुपर्छ । जी-ट्वेन्टीका बिजनेश ट्वेन्टीका कार्यक्रमहरू दिल्लीदेखि जयपुरसम्म अगष्ट २३ देखि २७ सम्म सञ्चालन भएको थियो । ५५ ओटा मुलुकबाट विश्वमा कहलिएका व्यापारिक घरानाका प्रतिनिधिहरूले कार्यक्रमको ओज र ऊर्जालाई बढाएका थिए । 

विश्वको व्यापारिक अवस्थालाई नयाँ मार्गदर्शन गर्न भारतले बृहत् रूपमा गृहकार्य गरेको देखिन्छ । जी-ट्वेन्टीमा दक्षिण गोलार्धको ध्वनिलाई ध्वनीकृत गर्न भारतका प्रधानमन्त्री मोदीले दक्षिण गोलार्धका १ सय २५ ओटा मुलुकहरूसँग संवाद गरेका थिए । विद्युतीय माध्यमबाट संवाद गरेर दक्षिण गोलार्धका मुलुकहरूको समस्या र भावनालाई जी-ट्वेन्टीमा समावेश गर्न भारतले आफ्नो वचनबद्धता समेत जाहेर गरेको छ । अर्थात भारतले जी-ट्वेन्टीलाई दक्षिण गोलार्धसँग जोड्न सामरिक र कूटनीतिक पहलसमेत गरेको देखिन्छ । जी-ट्वेन्टीमा अफ्रिकन संघलाई सहभागी गराउन मोदीले सम्पूर्ण कूटनीतिक अभ्याससमेत गरिसकेको देखिन्छ । बिजनेश ट्वेन्टीमा भारतले आफ्नो अनुभव र उपलब्धिलाई समेत साझा बनाएको देखिन्छ ।

विगतका दिनमा दक्षिण गोलार्धलाई लक्षित गर्दै ७८ ओटा मुलुकमा भारतले ६ सय ओटा योजनासमेत परिचालित गरेको देखिन्छ । कोरोनाको कहरमा दक्षिण गोलार्धलाई नै केन्द्रमा राखेर १ सय ओटा मुलुकलाई खोप उपलब्ध गराउनु र १ सय ५० मुलुकलाई औषधि उपलब्ध गराएर भारतले आफ्नो सहानुभूति र सद्भाव जाहेर गरेको देखिन्छ । दक्षिण गोलार्धलाई नै ध्यानमा राखेर भारतले २ लाख विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ । बिजनेश ट्वेन्टीको बैठक विश्व व्यापारमा आमूल परिवर्तन गर्नुपर्ने तर्क विभिन्न कोणबाट व्याख्या भएको देखिन्छ ।

उदार अर्थतन्त्र र भूमण्डलीकरणको राप र तापले गर्दा उपभोक्ताहरू केही सीमित व्यापारिक घरानाको आर्थिक चपेटामा परेको देखिन्छ । खुला बजार र उदारवादको आवरणमा दक्षिण गोलार्धमा ७५ ओटा मुलुक आर्थिक रूपले टाट पल्टिने अवस्थामा छन् । विश्वका एक तिहाई मुलुकहरू आर्थिक मन्दीबाट ग्रस्त छन् । संसारको २० करोड जनसंख्या गरीबीका रेखामुनि छन । संसारका १० करोड मान्छेहरू बेरोजगार भएका छन् । अर्थात कोरोनाको कहर र रसिया युक्रेन युद्धको पराकम्पनबाट सबभन्दा पीडित दक्षिण गोलार्धका विश्वमा कहलिएका वित्तीय संस्थाको समेत प्रतिनिधित्व रहेको थियो । 

प्रस्तोताहरूले ब्याजदर, लगानीमैत्री वातावरण, वितरण प्रणालीमा पुनर्विचार, विद्युतीकरण र समावेशिता जस्ता विभिन्न पक्षमाथि बहस गरेका छन । बिजनेश ट्वेन्टीको बैठकमा आ–आफ्नो उपलब्धि र अनुभवलाई साट्न तम्तयार देखाएका छन । आत्मनिर्भरता र मेक इन इन्डियाको नाराका साथ भारत आफ्नो आर्थिक महत्त्वाकांक्षा प्राप्त गर्न विभिन्न रणनीतिका साथ अगाडि बढिरहेको छ । अगष्ट २३ मा भारतले चन्द्रयानमा प्राप्त गरेको सफलता र फाइभ-जी मा प्राप्त गरेको उपलब्धिलाई उल्लेख गर्दै विश्वको लागि भारत समावेशी विकासको मोडेल हुन सक्ने विज्ञहरूको तर्क रहेको छ ।

कोरोनाका बेला ४ सय ५० मिलियन जनताको बैंक खातामा राहत उपलब्ध गराउनु, १ सय ५० मिलियन जनतालाई आवास गृह प्रदान गर्नुजस्ता कार्य समावेशी विकासको नमूनाको रूपमा लिन सकिन्छ । अर्को शब्दमा भन्ने हो भने बिजनेश ट्वेन्टीमा डिजिटाइजेशनमा जोड दिइएको छ । डिजिटाइजेशनविना गरीब र विपन्न देशहरूले विकासको मूल प्रवाहमा आउन नसक्ने विज्ञहरूको तर्क रहेको छ । संसारका चार बिलियन जनताहरू विद्युतीय प्रणालीबाट वञ्चित रहेको अवस्था छ । वर्तमान परिवेशमा समेत तीन बिलियन जनता बैंक र वित्तीय संगठन आबद्ध छैनन् । यस परिवेशमा बिजनेश ट्वेन्टीको प्रमुख चिन्ता र चासो दक्षिण गोलार्धमा नै रहेको छ । विभिन्न पछौटेपन हुँदाहुँदै पनि दक्षिण गोलार्धमा जनसांख्यिकीय लाभले गर्दा विश्वको ८० प्रतिशत वृद्धिदर दक्षिण गोलार्धमा नै रहेको छ । वर्तमान परिवेशमा बिजनेश ट्वेन्टीको सम्पूर्ण रणनीति र कार्यनीति दक्षिण गोलार्धमा नै केन्द्रित रहेको छ । 

मध्यमवर्गको उदयले नै बजारलाई फराकिलो बनाउन सक्छ । यस अर्थमा बिजनेश ट्वेन्टीको सम्बोधनमा यूरोपेली र अमेरिकी व्यापारिक घरानाहरूलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले व्यापारलाई मानवीय संवेदना र सहाभूतिसँग जोड्न आग्रह गरेका छन । जी–ट्वेन्टीको संयोजक अमिताभ कान्तले यसको सत्रलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।