|  

अब सम्झनामा मात्र सुवास नेम्वाङ !

२६ भदौ, काठमाडौं ।  पूर्व सभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ । नेपाली राजनितिबाट मात्र हैन, संसारबाट नै सदाका लागि बिदा भएका छन् ।

उनको सोमबार राती १ बजे ७१ वर्षको उमेरमा हृदयाघातका कारण निधन  भएको छ । उनी २० वर्षदेखि नै उच्च रक्तचाप, मधुमेह समस्याबाट ग्रसित थिए । उनको  असामयिक निधनले यतिबेला सबै नेपालीलाई स्तब्ध बनाएको छ । सन् १९५३ मार्च ११ अर्थात २००९ फागुन १८ गते इलामको सुन्तलाबारीमा जन्मिएका सालिन छवि बनाउन सफल एमाले नेता नेम्वाङ कलिलै उमेरदेखि नेपाली राजनितिमा होमिएका थिए ।

कानुनमा स्नातक (बीएल) गरेका नेम्वाङको व्यवस्था परिवर्तन, सामाजिक रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्न विशेष योगदान रहेको छ ।इलाम क्याम्पसमा पढ्दा देखिनै अनेरास्ववियुबाट २०२९ सालमा कम्युनिस्ट राजनीतिमा होमिएका नेम्वाङले २०३३ सालमा भने राजद्रोह मुद्दामा केही समय जेल जीवन बिताउनु परेको थियो ।  त्यसपछि भने उनी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

उनले २०५६ सालदेखि इलाम क्षेत्र नं २ बाट निर्वाचन जित्दै आएका थिए । उनी २०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए भने २०५६ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बने ।त्यसबेला उनी सार्वजनिक लेखा समिति सभापति पनि बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

२०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए । २०७४ र २०७९ मा समेत उनले इलाम–२ बाट निर्वाचन जितेका हुन । जनतालाई र्पुयाएको सेवा र जनतासँगको निकट सम्बन्धले आफूलाई विजयी बनाएको ठान्ने नेम्वाङ आफू संघीयता एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने दाबी गर्दै आएका थिए ।
अध्ययन र समाजसेवा नै उनको विशेष रुची थियो ।  

कानुन व्यवसायीका रूपमा पनि परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी समेत सम्हालिसकेका थिए । त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बीएल) गरेका उनले केही बर्ष नेपाल ल क्याम्पसमा अध्यापन पनि गराएका थिए । सालिन भद्र व्यक्तित्व भएका नेम्वाङ एमाले भित्र लोकप्रिय छवि बनाएका नेता मानिन्छन् । सरल जीवनशैली अपनाउने नेम्वाङ पार्टीभित्र मात्रै नभई अन्य दलका नेताले पनि मन पराउने नेताभित्र पर्थे । नेम्वाङ सभामुख भएको बेला नै नेपालमा पहिलो संविधान सभा भएर संविधान जारी भएको थियोे । उनी चार चोटी सभामुख बनेका थिए । त्यो पनि सर्वसम्मतमा ।

नेपालीको इतिहासमा सबैभन्दा लामो समय सभामुख हुने अवसर नेम्वाङले नै पाएका थिए । २०६३ को पुनस्र्थापित संसदमा सभामुख निर्वाचित भएका नेम्वाङ २०७२ सालसम्म सभामुख रहेका थिए । तीनवटा संसदको कार्यकालमा लगातार सभामुख रहने मौका पाएका थिए । संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको त्यसको अध्यक्ष नेम्वाङ भएकोले उनलाई बाँचुञ्जेल संविधानसभा अध्यक्ष भन्ने निर्णय भएको थियो ।
हाल उनी नेकपा एमाले संसदीय दलका उपनेता थिए ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७९ फागुन २९ गते उपनेतामा नियुक्त गरेका थिए । उनको निधन पश्चात एमालेले देशका सबै पार्टी कार्यालय, प्रदेश र इलाममा पार्टीको झण्डा तीन दिनसम्म झुकाउने भएको छ । स्वर्गीय नेता नेम्वाङले एमाले पार्टीलाई मात्र हैन, देशलाई नै दिएको योगदान अतुलनिय छ । सरकारले स्वर्गीय नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथसाथै त्यो दिन देशभर सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।

अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा पनि आधा झुकाइनेछ । मिलनसार छवि र कसैलाई नबिझाउँने अभिव्यक्ति दिने स्वर्गीय नेता नेम्वाङ संसारबाट अलविदा भएपनि उनले देशप्रति गरेको त्याग र समर्पणलाई नेपाल र नेपालीले सधै सम्झिरहनेछन् ।