|  

भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ देखि

२८ भदौ, काठमाडौं ।   सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ श्रृंखलाको घोषणा गरियो । समारोहमा प्रायोजकसँग सम्झौता भएको छ । पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट अनुबन्धित भएको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले शीर्ष प्रायोजकसहित पावर्ड बाई स्पोन्सर, को–स्पोन्सर, एसोसिएट स्पोन्सर तथा भोटिङ र मार्केटिङ पार्टनरसँग सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा नयाँ सिजनका कोच पनि सार्वजनिक गरियो । यस सिजनमा गायक उदय सोताङ कोचको रुपमा भित्रिएका छन् । यस्तै ‘भ्वाइस किड्स’मा कोच रहेकी मिलन नेवार पनि भ्वाइस अफ नेपाल सिजन ५ को नयाँ कोचमा अनुबन्धित भएकी छन् । अघिल्ला चार सिजनमा कोच रहेका प्रमोद खरेलले पाँचौं सिजनमा पनि निरन्तरता पाएका छन् भने चौथो सिजनमा कोच रहेका राजेशपायल राई नयाँ संस्करणमा दोहोरिएका छन् ।