|  

एप्पलले चोर्‍यो एन्ड्रोइडका यी ४ फिचर

२८ भदाै, काठमाडौं । एप्पलले मङ्गलवार आईफोन १५ सिरिज, एप्पल वाच सिरिज नाइन र एप्पल वाच अल्ट्रा डिभाइस सार्वजनिक गरेको छ ।

आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरी एप्पलले आईफोनमा चार ओटा मोडेल ल्याएको छ । यी मोडेलमा भएका विभिन्न फिचरहरू अन्य मोडेलका आईफोनभन्दा भिन्न छन् । तर, कम्पनीले केही फिचर भने एन्ड्रोइडबाटै प्रभावित भएर आईफोन १५ का विभिन्न मोडेलमा उपलब्ध गराएको छ । 

एप्पल इभेन्टमा कम्पनीले अन्य फोनको तुलनामा आकर्षक र नयाँ भनिएका फिचरहरू त्यसभन्दा पहिले नै कैयौं ब्रान्डले ल्याइसकेका थिए । एन्ड्रोइडबाट प्रभावित भई एप्पलले आईफोन १५ का मोडेलका ल्याएका विभिन्न फिचरहरूको चर्चा तल गरिएको छ । 

यूएसबी-सी (ली वान र लि म्याक्स वन २०१५ बाट ल्याइएको)

एप्पलले आईफोनमा सधैं लाइटनिङ पोर्ट समावेश गर्छ वा नयाँ चार्जिङ पोर्ट ल्याउँछ भन्ने कुरामा धेरै प्रयोगकर्ता द्विविधामै थिए । युरोपेली संघको नीति र उपभोक्ताको मागलाई सम्बोधन गर्दै एप्पलले आईफोन १५ लाइनअपका सम्पूर्ण मोडेलमा टाइप-सी पोर्ट उपलब्ध गराएको छ । युरोपेली संघबाट गत वर्ष पारित एक नीतिले फोन लगायत अन्य उपकरण निर्माता सबै कम्पनीले सम्पूर्ण डिभाइसमा २८ डिसेम्बर २०२४ पछि अनिवार्य रूपमा टाइप-सी लागू गर्न वाध्य पारेको छ । एप्पलले २०२४ मा आईफोन १६ सँगै टाइप-सी चार्जिङ सिस्टम सुरु गर्छ भन्ने बुझाइ थियो । तर, कम्पनीले आईफोन १५ मै टाइप-सी चार्जिङ पोर्ट उपलब्ध गराएको छ । 

त्यसो भए सबैभन्दा पहिले कुन ब्रान्डले टाइप-सी चार्जिङ सिस्टम लागू गरेको थियो त ? तपाईंहरूले कल्पना गरेका एलजी, एचटीसी वा सामसङ यो सूचिमा छैनन् । सबैभन्दा पहिले ‘लिईको’ नामको स्मार्टफोन निर्माता कम्पनीले आफ्नो लि वान र लि म्याक्स मोडेलमा २०१५ मै टाइप-सी चार्जिङ सिस्टम सुरु गरेको थियो । त्यसबेला एन्ड्रोइडको भर्सन प्रयोगमा थियो । 

पेरिस्कोप क्यामेरा (ह्वावेले २०१९ मा सार्वजनिक गरेको पी ३० प्रोको फिचर) 

लामो समयको प्रतीक्षापछि एप्पलले अन्ततः नयाँ आईफोनका प्रयोगकर्तालाई स्तरीय पेरिस्कोप टेलिफोटो लेन्स उपलब्ध गराएको छ । आईफोन १५ प्रो म्याक्समा यो नयाँ क्यामेराका रूपमा परिभाषित गरिएको फिचर हो । यो फिचर यूएसबी-सी जस्तो सबै एन्ड्रोइड फोनमा उपलब्ध छैन । ह्वावेले सन् २०१९ मा सार्वजनिक गरेको ह्वावे पी ३० प्रोमा यस्तो सुविधा उपलब्ध गराएको थियो । 

एप्पलले  आईफोन १५ प्रो म्याक्समा उपलब्ध गराएको पेरिस्कोप टेलिफोटो लेन्समा पाँच गुणा अप्टिकल जुम क्षमता रहेको छ भने अन्य आईफोन मोडेलमा तीन गुणा टेलिफोटो जुम सुविधा रहेको छ । यो फिचर गुगलले हालै सार्वजनिक गरेको पिक्सेल सेभेन प्रोमा पनि उपलब्ध छ । सामसङको ग्यालेक्सी एस २३ अल्ट्रामा भने १० गुणासम्मको अप्टिकल जुम क्षमता रहेको छ । 

थ्रीडी भिडिओ रेकर्डिङ (एचटीसी ईभओ थ्रीडी २०१७ मा रहेको फिचर)

सन् २०१७ मा एचटीसी प्रयोगकर्ताको क्यामेरा एक्सपिरियन्स सुधार गर्न अग्रसर भएको थियो । त्यही बेला कम्पनीले एचटीसी ईभो थ्रीडी फिचर ल्याएको थियो । यसको सहायताले प्रयोगकर्ताले थ्रीडी कन्टेन्ट खिच्न सक्ने कम्पनीले बताएको थियो ।

भिजन प्रो हेडसेटका लागि त्यही अनुसारको भिडिओ उपलब्ध गराउन एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा स्पेसन रेकर्डिङ (Spatial Recording) फिचर उपलब्ध गराएको छ । एप्पलका अनुसार यो फिचर प्रयोग गरी प्रयोगकर्ताले थ्री डाइमेन्सनमा भिडिओ खिच्न सक्ने र त्यी भिडिओ २०२४ को सुरुवातमा अमेरिकामा उपलब्ध हुने भिजन प्रोबाट हेडसेटबाट हेर्न सकिने कम्पनीले जनाएको जनाएको छ । 

आईफोन १५ प्रो र प्रो म्याक्सका लागि  एप्पलले ल्याएको यो फिचर एन्ड्रोइडमा २०१७ मै उपलब्ध भइसकेको थियो । 

टाइटानियम फ्रेम (इसेन्सियल फोन २०१७)

आईफोन १५ प्रो र प्रो म्याक्सलाई प्रिमियम बनाउने फिचर टाइप-सी, पेरिस्कोप टेलिफोटो क्यामेरा र थ्रीडी सबै पहिले नै एन्ड्रोइडमा आइसकेका थिए । ती फिचर बाहेक आईफोन १५ प्रो म्याक्समा भएको अर्को आकर्षक फिचर हो, टाइटानियम फ्रेम । यसमा भएको ग्रेड फाइभ टाइटानियमले फोनलाई हलुका बनाउनुका साथै टिकाउ बनाएको एप्पलको दाबी छ । एप्पलले पछाडिपट्टिको भागमा ग्लास नै राखेको छ भने फ्रेममा टाइटानियम समावेश गरेको छ । 

यो फिचर पनि आईफोन १५ मा पहिलो पटक आएको भने होइन । सन् २०१७ मा सार्वजनिक भएको इसेन्सियल फोनमा कम्पनीले टाइटानियम फ्रेम राखेको थियो । त्यसबाहेक पनि इसेन्सियल फोनले पहिलो पटक क्यामेराका लागि नच कटआउट उपलब्ध गराएको थियो ।