|  

काठमाडौं गैह्रीगाउँ हत्याकाण्डः  तालिमप्राप्त कुकुरसहित अनुसन्धान टोली घटनास्थलमा

३० भदौ, काठमाडौं ।  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट सोधपुछको लागि काठमाडौं–३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ । गैह्रीगाउँस्थित दिव्य सःमिलमा गएराति धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो ।

हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल,  कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । उक्त मिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ ।