|  

‘जेल डायरी’ पढेर बीपीलाई धेरै बुझ्न सकिन्छः गगन थापा

३० भदौ, काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेल डायरी’ पढेर मात्र पनि बीपी कोइरालालाई बुझ्न सकिने बताएका छन् ।
 
शनिबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । बीपीले लेख्ने कथा र संस्मरणहरुमा धेरैजसो दुःख, पीडाका कुराहरु हुने भन्दै विपी कोइरालालाई उक्त डायरीका आधारमा पनि धेरै बुझ्न सकिने थापाले बताए । 

उनले भने, ‘बीपी कोइरालाले आफूले लेख्ने कथा, कविता र घटना स्मरणहरुमा धेरैजसो दुःख पीडाका कुराहरु हुन्छन् भन्नुभएको थियो, त्यसैले यो डायरी पढेपछि कतिले मलाई के भन्लान् भने सधैँ नमेटिने कष्ट र निराशामा भएको पात्र रहेछु भन्लान् भन्नुभएको छ । यो सबै कुराले गर्दा यो डायरीका आधारमा पनि विपी कोइरालालाई धेरै बुझ्न सकिन्छ ।’

महामन्त्री थापाले विपीको साहित्य पढ्यो भने उनको जीवन मूल्य र जीवन पद्धति बुझ्न सकिने बताए ।