|  

गैह्रीगाउँ सामूहिक हत्याकाण्डः राति साढे ११ बजे निस्किएका थिए सिसिटिभी फुटेजमा देखिएका पुरूष

३० भदौ, काठमाडौं ।  काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीले ती पुरूषलाई पेप्सीकोला क्षेत्रबाट आइतबार पक्राउ गरेको हो । अहिले ती पुरूषमाथि सोधपुछ भइरहेको छ। प्रहरीले ती पुरूषको पहिचान पनि खुलाइसकेको छैन । उनले किन हत्या गरे भन्नेबारे पनि प्रहरी निष्कर्षमा पुगिसकेको छैन । शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको टहरामा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । राति ११ः५५ बजे प्रहरी वृत्त बानेश्वरमा २८ वर्षीय दीपेन्द्र राई पुगेका थिए ।

उनी ट्याक्सी चढेर प्रहरी कार्यालयमा पुगेका थिए। उनको शरीरमा रगत लागेको थियो।घटनाबारे जानकारी गराउन पुगेका उनलाई साथमा लिएर प्रहरी घटनास्थलमा पुग्यो । अनुसन्धानका लागि प्रहरीले उनैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । तर प्राविधिक रूपमा अनुसन्धान गर्दा उनको संलग्नतामाथि प्रहरीलाई शंका लाग्यो । प्रहरी कार्यालय पुग्दा पनि उनी नशामै थिए । जसकारण पनि उनले हत्या गरेका हुन् वा होइनन् भन्नेबारे प्रहरीलाई यकिन भइसकेको थिएन ।

अनुसन्धानको क्रममा प्रहरीले विभिन्न ठाउँका सम्भावित सिसिटिभी फुटेजहरू पनि संकलन गरेको थियो।मिलबाहिर पनि एउटा सिसिटिभी फुटेज राखिएको छ । त्यस फुटेजबाट हुलिया पहिचान खुल्न सकेको थिएन। अँध्यारोका कारण पनि खुल्न नसकेपछि प्रहरीले अन्य ठाउँका सिसिटिभी फुटेज केलाएको हो । तीनकुनेदेखि पेप्सीकोलासम्मका फुटेजलाई केलाएर ती पुरूषलाई पक्राउ गरेको प्रहरी स्रोत बताउँछ।उनी राति ११ः३४ मा निस्किएको तर कतिबेला कहाँबाट भित्र पसेको भन्ने नदेखिएको प्रहरी स्रोतले बतायो। उक्त काठ मिलमा दुई वटा ढोका छन् ।

निस्किँदा भने ती पुरूष मुख्य सडकपट्टीको ढोकाबाट बाहिरिएको देखिएको हो । जसकारण पनि अलमल भएको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुरूमा नवीन राईको हत्या भएको अनुमान छ । काठ मिलको कम्पाउन्डभित्र भुँइतला र माथिल्लो तलामा बस्न मिल्ने गरी काठको टहरा बनाइएको थियो । मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राईको शव माथिल्लो तलाको बरन्डामा विभत्स अवस्थामा भेटिएको हो ।

उनको टाउकोमा गम्भीर चोट थियो। शरीरका विभिन्न भागमा पनि चोट थियो । त्यहाँ होहल्ला भएपछि भने भुइँ तलामा एकै परिवारका तीन जनाको हत्या भएको हुनु पर्ने प्रहरीको प्रारम्भिक बुझाइ छ । दीपेन्द्रको काका पर्नेका छोरा नवीन हुन् । दीपेन्द्रका बुवा केही महिनाअघि सम्म उक्त मिलमा काम गर्थे ।

दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल र कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेलको भुँइ तलामा हत्या भएको देखिएको हो । हत्यापछि तीनै जनाको शवलाई घिसारेर काठको थुप्रो भएको ठाउँमा राखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीले बताए।