१ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।
तिमिल्सिनाले संघीय शिक्षा ऐन संसदमा पेश गरिएको उल्लेख गर्दै त्यसमा सबै समुदायले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने गरी आवश्यक व्यवस्था गर्न संघीय संसदका दुवै सदनका सांसदहरुलाई आग्रह पनि गरे ।
मुस्लिम आयोगले सोमबारबाट काठमाडौँमा सुरु गरेको दुई दिने गोष्ठीको उद्घाटन गर्दै उनले मुस्लिमका लागि मदरसा शिक्षा, बुद्धिष्टका लागि गुम्बाको शिक्षा, हिन्दुका लागि संस्कृत शिक्षा पाउने लगायत सबै धर्म र समुदायका मानिसले आफ्नो धार्मिक आस्थाको आधारमा शिक्षा पाउने गरी छलफल अघि बढाउनुपर्ने आवश्यक पनि औंल्याए ।
अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानमा कुनै पनि खालको विभेद नहुने व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा रहेका चुनौतिहरुलाई सामना गर्दै अघि बढ्नुपर्ने बताए ।