|  

तस्करको अनेक उपाय- चामलको बोरामा २२ क्वीन्टल चिनी

१ असाेज, काठमाडाैँ । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै  परिवर्तन गर्ने गरेको पाइएको छ । 

अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारले ती उपायलाई पनि विफल बनाउदै आएका छन् ।

वर्षौंदेखि सामान्य रुपमा गर्दै आएको तस्करहरुले अहिले सिमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाब आउने गरेको छ । 

भन्सारमा एक बस्तुको प्रज्ञापन भरी अर्को बस्तुको भन्सार जाँच पास गराउन खोज्नु, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नु जस्ता घटनाहरु बाहिरिए पनि तस्करहरुले अनेक उपाय अपनाइरहेका छन । पछिल्लो समय कति पयले तस्कर पेशा नै छाडेका छन् भने कति यस क्षेत्रबाट पलायन भइसकेका सुरक्षा निकायको रिर्पोट छ । 

गत शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको टिमले चामलको बोरामा चिनी बरामद गरेको छ । केही समय पहिला मलको बोरामा चिनी ओसारप्रसार भएको घटना बाहिरिए पनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रुपमा चिनी भित्रिएको पाइएको हो । चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ । सावा मन्सुली, स्टीम राइस लगायतका ३ दर्जन बढि बोरामा चिनी प्याकिङ गरी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक दिपक थापासहितको टिमले नियन्त्रणमा लिएको छ ।

नेपाली चामल उत्पादकको बोराहरुमा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रुपमा भित्रिएको २२ क्वीन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए । 

२५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचना हामीलाई आएको थियो, सोही सूचनाको आधारमा गएको टोलीले शनिबार दिउँसाे करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको एसपी थापाले जानकारी दिए ।