|  

पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार  माओवादी केन्द्र 

१ असोज, काठमाडौं ।  नेकपा माओवादी केन्द्र अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार देखिएको छ ।

पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र)को बारेमा आगामी आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’, जारी सर्कुलरमा माओवादी केन्द्रले भनेको छ ।

हाल पार्टी रुपान्तरणको तीन महिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्ने उदेश्य राखेको छ । सबै नेता कार्यकर्ताबाट पार्टीको नाम परिवर्तन गरी अन्य पार्टीसँगको एकतालाई सफल तुल्याउन तयार पार्न खोजेको छ ।