|  

कांग्रेस केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूह छुट्टै बैठक बस्दै 

१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक  बस्ने भएको छ ।

नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका छन् । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको  स्रोतले जनाएको छ । ०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए ।

तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए । थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।