|  

गण्डकीका मुख्यमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

११ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग अमेरिकी उपविदेश मन्त्रीजेनी वाईनीले भेटेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटको क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतिको प्रमुख पाटो पर्यटन रहेको बताए ।

उनले यसलाई दुई देशबीच सहकार्य गर्न सकिने पनि बताएका थिए । ‘प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेको छ,’ उनले भने, ‘दातृराष्ट्रको सहयोग पनि यस क्षेत्रमा आवश्यक छ ।’

भेटमा अमेरिकी उपविदेशमन्त्री एवं आप्रवासन विभागका उपसहायक सचिव वाईनीले विगतदेखि नेपाल र अमेरिकी सरकारबीचको सम्बन्ध अहिले पनि सौहार्द रहेको बताइन् ।

सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने उनको भनाइ थियो । पहिलोपटक पोखरा आएकी उनले पोखराको सुन्दरतामाथि प्रशंसा गरिन् ।