१३ असोज, काठमाडौं । हाम्रो पात्रोको डिजिटल वालेट हाम्रो पेमार्फत अब अर्को वालेटमा रकम पठाउन सकिने भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतिले लिङ्क्डइनमा एक पोस्ट राख्दै नयाँ फिचरको घोषणा गरेका हुन् ।‘हामी डिजिटल वालेटहरूबीच अन्तरसञ्चालन सेवा ल्याउने पहिलो वालेटमध्ये एक हुन पाउँदा धेरै गौरवान्वित छौं,’ उप्रेतीले भनेका छन्, ‘अब हाम्रो पे प्रयोगकर्ताहरूले २० भन्दा बढी वालेटमा रकम पठाउन सक्नेछन् ।’
उप्रेतीले २० ओटाभन्दा बढी वालेटमा पठाउन सकिने सुविधा छ भनेको भए पनि सो सूचीमा १२ ओटा वालेटको नाम राखिएको छ । जसमा आईक्याश, सजिलो पे, एन क्याश, नमस्ते पे, खल्ती, आईएमई पे, क्यू पे, प्रभु पे, सेल पे, पेवेल, मोरु तथा माईपे मात्र रहेका छन् । नेपालको प्रमुख मध्येको एक वालेट ईसेवा भने सो सूचीमा समावेश छैन ।
यसबारे कम्पनीले पनि कुनै आधिकारिक धारणा दिएको छैन ।अब हाम्रो पे वालेट प्रयोगकर्ताले पनि आफूले चाहेको विभिन्न वालेटमा हाम्रो पेमार्फत रकम पठाउन सक्ने भएका छन् । यसका लागि सबैभन्दा पहिले प्रयोगकर्ताले हाम्रो पात्रोमा गई हाम्रो पेको अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि सेन्ड मनीमा जानुपर्ने हुन्छ ।