|  

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिन हुँदैनः मुख्यमन्त्री पाण्डे

१३ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएका छन् । 

पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन । आज गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस, चाहे मेरै पार्टीको होस चाहे अरू कसैको होस त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति सद्भाव केही पनि रहँदैन ।’ 

त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनको सुझाव छ ।

समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृङ्खल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकले काम नै गर्न नसक्ने भयौँ भनेर बस्न नहुने उनले बताए । गोरखा अस्पतालको सेवा सुविधा बिस्तारका लागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामको लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए ।