१४ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल टानको ४५औँ साधारणसभामा मन्त्री किरातीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए ।
“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखे ।
“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ”, उनले भने । पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताइन् । “सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ”, उनले भनिन् ।
उनले पर्यटन क्षेत्रसम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र विस्तारमा टानले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकार र निजी क्षेत्रकाबीच सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले कानुनको समस्या र महालेखा परीक्षक कार्यालयको अवरोधका कारण पर्यटन क्षेत्रको विकासमा काम गर्न बोर्डलाई समस्या परेको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि निर्णय र काम गर्ने निकाय एउटै भए काम गर्न सहज हुने उल्लेख गरे ।
एशोसिएशनका अध्यक्ष निलहरि बाँस्तोलाले पर्वतीय पर्यटनको विकासमा ४५ वर्षको इतिास बोकेको टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा पर्वतीय पर्यटन प्रवर्द्धनमा काम गरिरहेको उल्लेख गरे ।
उनले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै यसलाई जोगाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । टानका पूर्वअध्यक्ष रमेश धमला, खुमबहादुर सुवेदीले पर्यटन क्षेत्रको मुद्दालाई समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए ।