१६ असोज, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ले भारतको बक्स अफिलमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड तोडेको छ ।
फिल्म जवानले भारतमा प्रदर्शनको २५औं दिनमा ६ सय करोडमाथिको व्यापार गरेको हो । यो फिल्ममा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण, सान्या मल्होत्रालगायतको मुख्य भूमिका छ । फिल्ममा विजय सेतुपति, नयनताराजस्ता साउथ स्टार भएकाले पनि साउथमा यो फिल्मले ब्लकबस्टर व्यापार गरेको हो ।
यो सफलतासँगै जवानले भारतमा सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्मको रेकर्ड बनाएको छ । यो फिल्मले चौथो साताको अन्तिम दुई दिन शनिबार र आइतबार भारतमा १७.३ करोड भारुको व्यापार गरेको छ । यसरी जवानले २५ दिनमा हिन्दी, तमिल र तेलुगुसहित भारतबाट ६०४.२५ करोड रुपैयाँ कमाउँदै भारतमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको हो ।
शनिबार एउटा टिकट किन्दा एउटा सितै पाइने अफर निर्माण पक्षले दिएपछि फिल्मको व्यापार ह्वात्तै बढेको हो । शाहरुखकै अघिल्लो फिल्म पठानले बनाएको सर्वाधिक व्यापारको रेकर्ड जवानले तोडेको छ । यो फिल्मले २५ दिनमा विश्वभर १ हजार ८० करोड भारुको व्यापार गरिसकेको छ ।