|  

महिला कबड्डीमा नेपाल इरानसँग पराजित

१६ असोज, काठमाडौं । १९ औँ एसियाड अन्तर्गत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा भने पराजित भएको छ । 

समूह ‘बी’ अन्तर्गत साओशन गुआली स्पोट्र्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३-१९ ले पराजित भएको हो । नेपालले समूहको पहिलो खेलमा बङ्गलादेशलाई ३७-२४ ले हराउँदै पदक जित्ने सम्भावना लगभग पक्का बनाएको थियो । नेपाल साबिक विजेता इरानसँग त्यति जम्न सकेन । 

पहिलो हाफमा १९-११ ले पछि परेको नेपाल दोस्रो हाफमा २४-८ ले पराजित भएको थियो । अब बुधबार हुने खेलमा इरानले बङ्गलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल प्रवेश गर्ने टोलीको कम्तीमा कांस्य पदक सुरक्षित हुनेछ ।